Logo

बागमती पेज

जेष्ठ २६, २०७९ बिहीबार

बिदा अस्वीकृतपछि एआईजी पोखरेलले भने, ‘कानुनी लडाईं नसकिएसम्म हाजिर हुन्नँ’


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बिदा अस्वीकृत भएपनि खटाइएको स्थानमा हाजिर नहुने अडान लिएका छन् । पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् ।

एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालतबाट त्यसको निरुपण हुँदैन, हाजिर हुने कुरा न आउँदैन ।’

पोखरेलले मंगलबारमात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर थप १० दिन बिदा माग गरेका थिए । यसअघि एक महिने बिदामा बसेका पोखरेलले थप १० दिन बिदा माग गरेपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन निर्देशन दिएका थिए । त्यसपछि पोखरेलले कानुनी सल्लाहकारमार्फत आफू हाजिर नहुने बताएका हुन् ।

पोखरेलका कानुनी सल्लाहकारले भने, ‘मुद्दाको पेसी आगामी जेठ ३० गतेका लागि तोकिएको छ । उक्त दिन अदालतले फैसला गर्ने अपेक्षा गरेका छौँ, त्यसपछि के गर्ने भन्ने सम्बन्धमा कुरा गरौंला । तर अहिलेको कुरा क हो भने प्रहरी महानिरीक्षक नियुक्तिकै विरुद्ध मुद्दा हालिएको र जुनियर एआईजीलाई आइजीपी बनाएको भनेर मुद्दा हालेपछि फेरि उहाँले निर्देशन दिँदैमा हाजिर भइहाल्ने भन्ने हुँदैन । उहाँ हाजिर हुन जानुहुन्न, अदालतबाट अन्तिम किनारा लागेपछि के गर्ने भन्ने हो ।’

प्रहरी महानिरीक्षक सिंहले तत्काल हाजिर हुन निर्देशन दिएपछि हाजिर नभएमा उनीमाथि स्पष्टीकरण सोधी विभागीय कारबाहीसम्म गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई रहन्छ । यस विषयमा समेत पोखरेलले परामर्श लिइसकेको बताइएको छ ।

पोखरेलको मुद्दा अबको ५ दिनमा नै पेसीमा चढी फैसला आउने अपेक्षा गरिएको कारण त्यस अगावै स्पष्टीकरण सोधी कारवाही गर्नसक्ने सम्भावना भने निकै कम छ ।