Logo

बागमती पेज

जेष्ठ ३०, २०७९ सोमबार

दोलखाको बैतेश्वरमा चोरी तथा लुटपाटको घटना बढ्दो


काठमाडौँ । दोलखाको बैतेश्वर गाउँपालिकामा एकपछि अर्को गर्दै चोरी तथा लुटपाटका घटना बढ्न थालेको छ । केहिदिन अघि मात्रै बैतेश्वर अस्पताल चोरी भएकोमा आज पुनः एक वृद्धामाथि दिउँसै लुटपाट भएको हो ।

बैतेश्वर गाउँपालिका वडा नम्बर ७ माझीबुस्तीकी ९५ वर्षीया वृद्धा असुली तामाङमाथि लुटपाट भएको हो । आज मध्यान्ह करिब साढे १२ बजे तामाङको २ तोला सुन चोरी भएको छ । घरमा एक्लै बसिरहेकी वृद्धालाई दुई जनाको समूहमा गएका अज्ञात व्यक्तिले कानमा लगाएको दुई तोला रिङ र गलामा लगाएको एक तोलाको सुनको तिलहरी लुटेर लगेका हुन् ।

अज्ञात व्यक्तिहरुले वृद्धाको कान चुडालेर सुन निकालेका छन् उनको कान चुडिएको छ । घरमा कोही नभएको मौका छोपी वृद्धामाथि लुटपाट भएको दोलखा प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिले सुन लुटेर भाग्दै गरेको देखेपछि वृद्धाको नातिनिले स्थानीयलाई खबर गरेकी थिइन् । लुटेराहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यहि जेठ २४ गते राती बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर अस्पतालमा चोरी भएको थियो । मध्यरातमा मुखुण्डो लगाएको एक व्यक्ति अस्पतालभित्र छिरेर अस्पताल चोरी गरेको घटना सेलाउन नपाउँदै आज पुनः दिउँसै वृद्धामाथि लुटपिट भएको छ ।

यो सँगै बैतेश्वर गाउँपालिकामा त्रास फैलिएको छ । केहि दिन यता गाउँपालिकामा चोरी तथा लुपाटका घटना बढ्न थालेपछि मानिसमा त्रास फैलिएको हो । घटनाबारे अनुसन्धान थालिएको दोलखा प्रहरीले जनाएको छ ।