Logo

बागमती पेज

जेष्ठ ३०, २०७९ सोमबार

दोलखा शैलुङका दुई सय घरमा मिटरसहितको धारा जडान


काठमाडौं । दोलखा जिल्लाको शैलुङ गाउँपालिकाले दुई सय घरधुरीमा मिटरसहितको खानेपानी धारा जडान गरेको छ ।

हरेक घरमा शुद्ध पानी वितरण गर्ने उदेश्यका साथ शैलुङ गाउँपालिका र वाटरहेडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा मिटरसहितका खानेपानी धारा जडान गरेको हो । घरघरमै धारा पाएपछि सो स्थानका स्थानीयहरू खुसी भएका छन् ।

नादनघर नाम्चे आहाल खानेपानी तथा सरसफाइ आयोजनामा र कालो खोला मूलाबारी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ती गाउँमा खानेपानी निर्माणको काम गरिएको उपभोक्ता समितिले जनाएको छ । आयोजनाबाट दुई सय धारा निर्माण गरिएको छ । यसबाट एक हजार जना लाभान्वित हुने भएका छन् ।

सामुदायिक विकास मञ्चको सहजीकरणमा वाटरहेड नेपालको १ करोड ४१ लाख ६२ हजार ७ सय ७०, शैलुङ गाउँपालिकाको २६ लाख १२ हजार ७ सय ६६ र उपभोक्ता जनश्रमदानबाट २७ लाख ५६ हजार ६ सय १२ गरेर १ करोड ९५ लाख ३२ हजार १ सय ५० रुपैयाँमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

पालिकाको वडा–३ र ४ का स्थानीय नागरिकले घरआँगनमा रहेको मिटरसहितको धाराबाट पानी खान पाएपछि हर्षित भएका छन् ।