Logo

भवानी कार्की

जेष्ठ ३१, २०७९ मंगलबार

दोलखा शैलुङ–भीमेश्वर जोड्ने पुल उद्घाटन, स्थानीयमा छायो खुशीयाली


काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको सिमानामा ट्रसको पुलको निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

सिविक फोरम टिबियसयु पिटिएपीको प्राविधिक सहयोग शैलुङ गाउँपालिका र झोलुंगेपुल क्षेत्रगत कार्यक्रमको आर्थिक सहयोगमा ट्रसको पुल निर्माण गरिएको हो ।

पुलको उद्घाटन शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्की थापाले गरेका थिए । पुल निर्माण सम्पन्न भएसँगै शैलुङ गाउँपालिका–४ को मुलाबारी, सिरमाने कमेरेटोल लोकिल टोल र भीमेश्वर नगरपालिका–७ को पट माहान्काल, कैदले स्कुल जानलगायत तल्लो भेगका स्थानीयहरूको यात्रामा सहज हुने भएको स्थानीय भरत ढुंगेलले जनाएका छन् ।

पुलको उद्घाटन गर्दै पालिका अध्यक्ष रिमलबाबु श्रेष्ठले शैलुङ र भीमेश्वर जोड्ने सो पुल उद्घाटन भए पछि बर्षातको समयमा बालबालिकाको पढाईमा र सम्पुर्ण नागरीकको स्वास्थ्यमा सहजता भए संगै अन्य कामको लागि समेत जन-जीवनमा निकै सहजता भएको बताएका छन् ।

पुल निर्माण भएसगै एक घण्टाको बाटो छोटिएपछि स्थानीयहरूमा खुसीयाली छाएको छ । सिविक फोरम टिबियसयु पिटिएपी सामाजिक प्राविधिक सहयोग शैलुङ गाउँपालिकाको ४ लाख ९१ हजार १ सय, श्रमदान ७५ हजार ५ सय ५३ र झोलुंगेपुल क्षेत्रगत कार्यक्रम ३२ लाख ११ हजार ४२ रुपैयाँ गरेर कुल ३७ लाख ७७ हजार ६ सय ९६ रुपैयाँमा निर्माण सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुदेव चौलागाईंले बताए ।

चर्नावती पुल नामले चिनिने सो पुलको लम्बाइ ३२ मिटर रहेको छ । पुल निर्माण सम्पन्न भएसँगै नौ सय घरधुरीका ३ हजार ६ सय भन्दा धेरैले आवत-जावतमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।