Logo

बागमती पेज

असार ६, २०७९ सोमबार

नक्कली कीर्ते गरी जग्गा बेचेको आरोपमा ५ जना पक्राउ


काडमाडौँ । ७ करोडको जग्गा कीर्ते गरी बेचेको आरोपमा सिन्धुपाल्चोकका एक सहित ५ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबीले जग्गाधनीको मृत्यु भएको भनी नक्कली कागजात बनाएर ७ करोड पर्ने जग्गा बिक्रि गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ४ का गणेश बहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर १ का बाबुराम कार्की, नुवाकोटका प्रेमप्रसाद खनाल र काठमाडौंको तारकेश्वर नगरपालिकाका डासिमाया श्रेष्ठ रहेका छन् ।

उनीहरुले जग्गाधनी शान्तादेवि लोहनीको निधन भएको भन्दै उनको नाममा कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा रहेको ३ सय ४१ वर्गमिटर जग्गा ३ करोड ७० लाखमा विक्रि गरेको प्रहरीले जनाएको छ । जग्गाधनी लोहनी लामो समयदेखि जापानमा बस्दै आएकी थिइन् ।

पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकिस्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणाली मार्फत अभिलेख राख्न खोज्दा उनको जग्गा किर्ते गरेर १४ महिना अघि नै बिक्रि भएको खुलेको थियो ।

लोहनीले २०६१ सालमा सो जग्गा खरिद गरेकी थिइन् । गिरोहले २०७७ साल फागुन १० गते सो जग्गा भक्तपुर नगरपालिका ११ की सुनिता कर्माचार्यलाई ३ करोड ७० लाखमा बेचेका थिए । उनीहरुले नक्कली मृत्यु दर्ता बनाएर जग्गा बेचेको पाइएको छ । त्यसपछि प्रहरीले सुरु गरेको अनुन्धानका क्रममा ५ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।