Logo

बागमती पेज

असार ६, २०७९ सोमबार

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।

अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाइरहेका थिए ।

अन्तमा उनै शेर्पाविरुद्ध अध्यक्षमा चुनाव लडेका नेम्वाङ विजयी पनि भए ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए ।