Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह ‘घन्टी’ रहने


काठमाडौँ । सञ्चारकर्मबाट विश्राम लिएर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन्।राष्ट्रिय सभामा आयोजित कार्यक्रममा उनले पार्टीको नाम सार्वजनिक गरेका हुन्। लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष गर्न माग राखेका छन्।

उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन्। आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने लामिछानेले दावी गरे । पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा अनिवार्य हुने उनले बताए । लामिछानेका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा पार्टीले बोक्नेछ ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको बताएका छन्।

उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताएका छन्। लामिछानेले आफ्नो पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने बताएका छन् । यस्तै प्रस्ताव चुनाव चिन्ह ‘घन्टी’ रहने उनले जानकारी दिए ।