Logo

बागमती पेज

असार ९, २०७९ बिहीबार

बाढी, पहिरो र नदी नियन्त्रणकालागि दोलखालाई १२ करोड बजेट बिनियोजन


काठमाडौँ । वर्षेनी बाढी पहिरोको जोखिममा पर्ने गरेको दोलखा जिल्लामा पहिरो तथा नदी नियन्त्रणकालागि उल्लेख्य बजेट बिनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९ / ८० का लागि दोलखालाई उच्च प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेको हो । जस अनुसार आगामी आर्थिक बर्ष नदी तथा पहिरो नियन्त्रण कार्यक्रम अन्तर्गत दोलखालाई १२ करोड २५ लाख बजेट बिनियोजन भएको छ । मन्त्रालयले जिल्लाका ७१ वटा योजनालाई प्राथमिकतामा राख्दै बाढी, पहिरो तथा खोला र नदी नियन्त्रणको कार्यक्रममा समेटिएको छ ।

प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत छनौटमा परेका ७१ योजना मध्ये मेलुङ गाउँपालिकामा सबैभन्दा बढी १७ योजना, गौरीशंकर गाउँपालिकामा १६, बैतेश्वरमा १०, कालिञ्चोक गाउँपालिकामा ९, भीमेश्वर नगरपालिकामा ६, जिरी नगरपालिकामा ५ र शैलुङ तथा विगु गाउँपालिकामा ३ / ३ र तामाकोशी गाउँपालिकामा २ वटा योजना परेका छन् । ती मध्ये ४५ वटा पहिरो नियन्त्रणका योजना छन् भने २१ वटा नदी तथा खोला नियन्त्रणका योजना रहेका छन् ।

५ वटा तटबन्धन तथा बाँध व्यवस्थापनको योजनालाई पनि बजेटमा समेटिएको छ । यी बाहेक बजेटमा विभिन्न स्थानीय तहका बस्ती संरक्षणकालागि पनि बजेट विनियोजन भएको छ । पहिरो तथा नदी नियन्त्रणका योजनाका लागि १० लाख देखि ४५ लाखसम्म बजेट विनियोजन भएको छ ।