Logo

बागमती पेज

असार ११, २०७९ शनिबार

शङ्खरापुरले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने


काठमाडौं । शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० का लागि बजेटमाथि छलफलसहित पारित भएको हो । नौ वडा रहेको नगरपालिकाले वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ ।

नगरसभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले बागमती पेजलाई जानकारी दिए ।

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने, नगरवासीलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।

कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिनेछ । गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गराइने भएको छ ।

नगरपालिकाभित्र शवबाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने, अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गरिने भएको छ ।