Logo

मेघनाथ पहाडी

असार १४, २०७९ मंगलबार

सिन्धुलीबाट सङ्घीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने २९ वर्षीय युवाको घोषणा


काठमाडौँ । देशव्यापी रूपमा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिने घोषणाको चौतर्फी चर्चा भएको छ । स्थानीय निर्वाचनमा धेरै स्थानीय तहबाट स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका थिए । त्यसैको प्रभावले पनि सङ्घीय निर्वाचन नजिकिएसँगै विभिन्न निर्वाचन क्षेत्र तथा जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिने युवाहरूको सङ्ख्या बढ्दो रहेको छ ।

यसै क्रममा ग्रीष्म ल्वागुनले सिन्धुलीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याएका उनले सिन्धुलीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कपास उद्योग स्थापना गरी रोजगारी सिर्जना गरेर आयातित हुने कपडा लाई विस्थापन गर्ने नीति लिएर कमलामाई नगरपालिका बस्दै आएका ग्रीष्म ल्वागुनले सङ्घीय सांसदमा उम्मेदवारी दिने घोषणा गरे ।

अगामी हुने सङ्घ तथा प्रदेश निर्वाचन अन्तर्गत क्षेत्र न २ बाट सङ्घीय सांसदका लागि उम्मेदवारी घोषणा गरेका २९ वर्षीय ग्रीष्मले आफू विजयी भएपश्चात् कपास उद्योग खोलेर ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गरी जिल्ला आत्मनिर्भर बनाउने योजना रहेको बताए ।

सिन्धुलीका कुनाकन्दरा, पाखा बारी, वनजंगल, जताततै कपास खेती हुने आफूले अध्ययन गरेको दाबी गर्दै ग्रीष्मले घरमै बसेर पैसा कमाउने उत्तम मेलोमा सिन्धुलीवासीलाई सहभागी गराउने आफ्नो योजना साकार पार्न आफूलाई मतदान गरेर विजयी गराउन आग्रह गरेका छन् ।

सङ्घीय संसद्मा विजयी बनेपछि आफूले पाउने पारिश्रमिकको २५ प्रतिशत रकम कपास उद्योग स्थापना गर्न सहयोग गर्ने उनको भनाई रहेको छ । विभिन्न राजनीतिक दलहरूप्रति आफ्नो विचार नमिल्ने भएका कारण पनि ग्रीष्मले एक पटक आफूलाई जिताइदिन मतदातालाई अनुरोध गरेका छन् ।

कमलामाई स्थित मधुटारमा अङ्ग्रेजी भाषा सिकाउने लन्डन ल्यांग्वेज खोलेर करिब २ हजार भन्दा बढी विद्यार्थीहरु अध्यापन गराईसकेको कारण विद्यार्थी र अभिभावकले आफूलाई पत्याउने दाबी गरे । उनले भने, “म युवा छु, भ्रष्टाचार गर्दिन, जनतामा समर्पित हुन्छु भन्दा कसो मतदान नगर्नु होला त ।”

जिल्लामा बसेर लामो समयसम्म अङ्ग्रेजी भाषा अध्यापन गराएका उनले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । आफूले चुनाव जिते पश्चात् जिल्लामा अङ्ग्रेजी भाषा बोल्न, पढ्न, लेख्न, बुझ्न र पढाउन समस्या भएका सम्पुर्ण विद्यार्थी तथा शिक्षकहरुलाई अनलाईन मार्फत निशुल्क अङ्ग्रेजी भाषाको कक्षा आफैले संचालनमा ल्याउने समेत उनको भनाई रहेको छ ।