Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक आज पनि बस्दै


काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।

सोमबार बसेको बैठकमा नौवटा विषयगत मन्त्रालयहरुको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।

नेकपा एमालेका सांसद दीपक निरौलाले प्रस्तुत गरिएको बजेटमा काहीँ एउटै वडामा ६१ वटा बजेट योजना ? यति मात्रै हैन झन्डै ४०० योजना दोहोरिएका छन् । कुनै योजना त ५/५ पटक समेत राखिएको छ । यसबाट हामीले अनुमान गर्न सक्छौ कि यो सरकार कति जिम्मेवार छ ? हाम्रो प्रदेश कसरी योजना ल्याउँदै छ ? यस्तो किसिमले ल्याएका योजना कति प्रभावकारी हुन्छन् ? भन्दै सांसद निरौलाले यी लगायत विभिन्न कुरालाई ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको भन्दै आरोप लगाएको छ ।