Logo

बागमती पेज

असार १५, २०७९ बुधबार

११ महिनामा ३६ लाखको दही र ५० लाखको चिउरा भित्रियो


काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३६ लाख रुपैयाँको दही र ५० लाख रुपैयाँको चिउरा भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालूवर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको दही र चिउरा भित्रिएको हो ।

यसअवधिमा नेपालमा विदेशबाट नेपालमा १६ हजार किलो दही आयात भएको छ । उक्त परिमाणको दही आयात गर्दा ३६ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, यसबापत आयातकर्ताले सरकारलाई १० लाख ९५ हजार रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।

नेपाल भित्रिएको दहीमध्ये स्पेनबाट सबैभन्दा धेरै भित्रिएको छ । स्पेनबाट मात्रै नेपालमा ११ महिनाको अवधिमा ३१ लाख ३० हजार रुपैयाँ बराबरको ८ हजार ५१३ किलो दही भित्रिएको छ । यसपछि बंगलादेशबाट ४ लाख ८० हजार रुपैयाँको र भारतबाट ३६ हजार रुपैयाँको दही आयात भएको छ ।

यसअवधिमा, विदेशबाट १ लाख २० हजार किलो चिउरा भित्रिएको छ । यसको मूल्य ५० लाख रुपैयाँ हुन आउँछ । यस्तै, व्यापारीले चिउरा आयात गरेबापत राज्यलाई ७ लाख ६५ हजार रुपैयाँ भन्सार शूल्क बुझाएका छन् । र, यस अवधिमा नेपाल भित्रिएको सबै चिउरा भारतबाट मात्रै भित्रिएको छ ।