Logo

बागमती पेज

असार १८, २०७९ शनिबार

जिपी कलेजमा मनाईयो गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्म जयन्ती


काठमाडौँ । जिपी कोइराला मेमोरियल क्याम्पसले गिरिजा प्रसाद कोइरालाको जन्म जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार एक कार्यक्रम गर्दै काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९९ औँ जन्म जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्न आवश्यक रहेको धारणा व्यक्त गरे । नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताएका हुन् ।

मन्त्री बडूले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यस कारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ ।’

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख शिव अधिकारीले देशभरका विद्यार्थीको उत्कृष्ट शैक्षिक गन्तव्य जिपी बनेको विश्वास व्यक्त गरे । उनले भने, जिपीमा तिन हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । हामीले विद्यार्थीहरूको चौतर्फी विकासका निम्ति शैक्षिक क्रियाकलापमा विशेष ध्यान दिएका कारण विद्यार्थीहरुको रोजाईमा जीपी कलेज रहेको छ । विशेष गरी सीप र संस्कारलाई जोड दिँदै जिपीले आफ्ना शैक्षिक गतिविधि गरिरहेको परिणामले जीपी विद्यार्थीको रोजाइको क्याम्पस बनेको छ ।

क्याम्पसका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानको सभापतित्वमा कार्यक्रम गरिएको कार्यक्रममा बागमती प्रदेश सदस्य माननीय न्हुच्छे नारायण श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विमल कुमार होडा, देउडा गायक नन्दकृष्ण जोशी, निमित्त क्याम्पस प्रमुख शिव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।