Logo

बागमती पेज

असार १९, २०७९ आईतबार

नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड


Prachanda Pushpakamal_Dahal https://bagmatipage.com/

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा फेरि कम्युनिस्ट पार्टीहरूबिच एकताको विषयले प्रवेश पाएको छ । आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबिच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरूको राय समेत माग गरेको एक नेताले बताए ।

आइतबार बिहान मात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरूसँग अनौपचारिक छलफल भएको भन्दै आजै भ्याएसम्म तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरूको बैठक बस्ने तयारी भएको बैठकमा बताएको एक नेताको भनाइ छ । बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।

वर्तमान सरकारमा काँग्रेससहितको गठबन्धन सरकार भएको सन्दर्भमा प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिएका हुन् । ‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । नेकपाका तत्कालीन सचिवालयका नेताहरूसँग कुरा भएको छ’ उनले भने, ‘आज बिहान मात्रै पनि छलफल भएको थियो । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्‍यो भनेर साथीहरूले भन्नु भएको छ । अपिल गर्नुपर्‍यो भनेर भन्नु भएको छ ।’

बिस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उनको भनाइ छ । उनले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरूलाई आग्रह गरेको ती नेताको भनाइ छ ।