Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव


काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘हामीले मंसिर २ गते शुक्रबारको मिति प्रस्ताव गरौं । हामीले एकै चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरौं ।’

१२० दिन अवधि हुने गरी निर्वाचनको मिति तोकिदिन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले १२० दिनकाे समय अवधि हुने गरि निर्वाचनकाे मिति दिने जवाफ दिएका थिए ।

प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचन गर्ने सन्दर्भमा सहमति जनाएको थपलियाले बताए । आयोगले प्रस्तुत गरेको मितिका सन्दर्भमा भने प्रधानमन्त्री देउवाले छलफल गर्न आवश्यक रहेको जवाफ दिएका थिए ।

‘मंसिर २ गतेको हकमा हामीले अलि कति छलफल गरेर मंसिर ५ गते उता नजाने गरी उपयुक्त मिति दिने छौं,’ प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै थपलियाले भने । उनका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई चुनावी तयारी थाल्न निर्देशन दिएका छन् ।