Logo

बागमती पेज

असार २३, २०७९ बिहीबार

परम्पराले दाजुहरुसँग विहे : कुरा नमिल्दा कडा यातनापछि २ युवतीको हत्या, सडकमै बलात्कार


काठमाडौं । दुई दिदीबहिनीको हत्या भएको छ । पाकिस्तानबाट दिदीबहिनीको हत्याको घटना बाहिर आएको हो ।

अहिले प्रहरीले हत्यारालाई पक्राउ गरेर रहस्य सुल्झाएको दाबी गरेको छ । दुवै दिदीबहिनीहरू पाकिस्तानी मूलका स्पेनी नागरिक थिए । गत शुक्रबार उनीहरुको शव आफ्नै घरमा भेटिएको थियो ।

हत्यापछि पाकिस्तानभर आक्रोशको लहर आएको छ । अहिले प्रहरीले ससुराली पक्षका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीहरुका सासू ससुरा र श्रीमान् पनि छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार देशमा यसअघि यस्तो घटना कहिल्यै भएको थिएन् । यो कुनै सामान्य अपराध वा हत्या होइन ।

पाकिस्तान, पञ्जाब राज्यको गुजरातमा यस्तो घटना भएको हो । प्रहरीका अनुसार शुक्रबार एकै घरमा दुई जनाको हत्या भएको खबर प्राप्त भएको थियो ।

प्रहरी टोली घटनास्थल पुग्दा एउटा कोठाबाट दुई युवतीको शव फेला परेको थियो । दुवैको गोली हानेर हत्या भएको प्रष्ट थियो ।

गोली हान्नु अघि उनीहरुलाई क्रूर यातना दिइएको थियो । शवमा भेटिएका निशानबाट यो पुष्टि भएको हो । यस घटनामा ६ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार यस घटनालाई सामान्य अपराध भन्न मिल्दैन्, न त यो सामान्य हत्या हो । यसको कारण अनौठो छ, यो स्पष्ट रुपमा विदेशमा बस्ने लालच (लोभ) सँग सम्बन्धित छ ।

मारिएका दुई दिदीबहिनीको पहिचान अर्जु र अनिसाका रुपमा भएको छ । २१ वर्षीया अर्जु अब्बास र २३ वर्षीया अनिसा अब्बासको हत्या गरिएको हो ।

गत वर्ष उनीहरु स्पेनबाट काकाको घर घुम्न पाकिस्तान आएका थिए । परम्पराको नाममा उनीहरुको विवाह जबरजस्ती काकाका छोराहरुसँग गरियो ।

विवाहपछि केटा पक्षले दुवै दिदीबहिनीहरु स्पेनी नागरिक भएको कुराको फाइदा उठाउन खोज्यो । उनीहरुसँग आ–आफ्ना श्रीमानलाई स्पेनको भिसा दिलाउनुपर्ने शर्त राखिएको थियो ।

पाकिस्तान छाडेपछि श्रीमानले स्पेनमा विलासीको जीवन बिताउने सपना पनि देख्न थालेका रहेछन् । स्पेनबाट पाकिस्तानमा रहेको आफ्नो परिवारलाई केही रकम पठाउने उद्देश्य पनि स्पष्ट नै थियो ।

प्रहरीका अनुसार ससुराली पक्षका अनुसार अनिसा र अर्जुले भिसा प्रक्रियामा नियतवश ढिलाइ गरिरहेका थिए । अर्को शब्दमा भन्नुपर्दा, दुवै केटीहरू आफ्ना श्रीमानहरु आफूहरूसँगै स्पेन आएको हेर्न चाहँदैन्थे ।

जसकारण ससुराली पक्ष आक्रोशित भयो । यस विषयमा अनिसा र अर्जुसँग पटकपटक विवाद भएको थियो । अन्ततः विवादको नतिजा दुवै दिदीबहिनीको निर्मम हत्यामा परिणत भयो ।

एक प्रहरी अधिकारीका अनुसार अर्जु र अनिसा आफ्ना श्रीमानलाई साथमा लैजान तयार थिएनन् । उनीहरु युरोपमा हुर्किएका थिए । उनीहरु रुढीवादी सोचबाट स्वतन्त्र थिए ।

जबरजस्ती विवाह गरेको भन्दै सम्बन्धविच्छेद गर्नुपर्ने उनीहरुको माग थियो । दोस्रो विवाहका लागि यी दिदीबहिनीले स्पेनमा बस्दै आएका पाकिस्तानी मूलका दुई जना केटालाई रोजेका थिए ।

परिवारका सदस्यहरू यसको कडा विरोधमा थिए । गत वर्ष पाकिस्तानमा बेलायती मूलकी एक महिलाको आफन्तले हत्या गरेका थिए । यी महिला पाकिस्तानमा आफ्नो सम्पत्ति बेच्न आएकी थिइन् । यसअघि अमेरिकाबाट पाकिस्तान आएकी एक महिलाको सडकमै बलात्कारपछि हत्या भएको थियो । छोराछोरीलाई बन्धक बनाएर बलात्कार गरिएको थियो ।