Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता


काठमाडौं : संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी छन् । त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावक सांसद शान्ता चौधरी छिन् भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताइन् । उनले आफ्नो भूमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘प्रतिनिधि सभाको उपसभामुख भन्ने बित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडी बढाउनका लागि एउटा खालको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । र सदनसँग जोडिएका, मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउनको लागि पनि सहयोग गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ ।

संविधान कार्यान्वयनको विषयमा संसदको जुन प्रभावकारी भुमिका हुनुपर्दछ, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि सदनले प्रभावकारी भुमिका खेलोस् त्यसको लागि पनि मेरो भुमिका निर्वाचित भएँभने प्रभावकारी ढंगबाट अगाडी बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु । संवैधानिक परिषद्मा जुन भुमिकाको अपेक्षा गरेको छ संविधानले त्यो अनुसार आफ्नो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताइन् । उनले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताइन् ।