Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

देशभरका महानगरपालिकाका मेयरहरूको सम्मेलन पोखरामा गरिँदै


काठमाडौँ । पोखरामा देशभरका महानगरपालिकाका मेयरहरूको सम्मेलन हुने भएको छ। साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुन लागेको हो।

महानगर सञ्चालन विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए।

उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ।

यसअघि पनि पोखराकै आयोजनामा मेयर सम्मेलन भएको थियो। सम्मेलनमा महानगरको संचालन कानुन फरक हुनुपर्ने आवाज उठे पनि कार्यान्वयनमा गएको थिएन।

६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पूरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन्। पूराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्ययोजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ।