Logo

बागमती पेज

श्रावण ८, २०७९ आईतबार

सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने


काठमाडौँ । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए।

उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताए। सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए।

उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए। सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए।

त्यस्तै काठमाडौँ उपत्यकालगायत अन्य पर्यटकीय स्थलहरुमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ।

मन्त्रालयले कोरोना महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ।

त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिनाभित्र खुला गर्ने तयारी गरेको छ।