Logo

बागमती पेज

श्रावण ९, २०७९ सोमबार

गायिका दिलमाया सुनारका हत्या आरोपी थुनामा


काठमाडौँ । नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सूर्य श्रेष्ठलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई मुद्दा पुर्पक्षका लागी केन्द्रीय कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । असार ११ मा बिहान दिलमाया नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्यामा संलग्न आरोपमा प्रहरीले ३८ वर्षका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई ज्यान सम्बन्धी कसुरमा श्रेष्ठलाई २५ वर्ष कैद सजायको माग दाबी लिएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।

गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । आरोपी श्रेष्ठले बिहान आफू ब्युँझँदा गायिका झ्यालको भेन्टिलेसनमा पासो लगाएर झुन्डिएको देखेको बयान दिएका छन् । श्रेष्ठले गायिकाको सल महाराजगञ्ज स्थित कतार भिसा सेन्टर नजिकैको झाडीमा फालेको अनुसन्धानबाट थाहा भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षण रिपोर्ट अनुसार चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् ।