Logo

बागमती पेज

श्रावण १३, २०७९ शुक्रबार

विदेशमा दुःख पाएपछि स्वदेशमै कृषिमा रमाउँदै युवाहरु


सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन् । उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदो रहेछ भन्ने लागेको छ ।

उनीसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७/१८ लिटरदेखि लिएर ४०/५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उनले बताए ।

यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गरिन् । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गरिएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिएकी हुन् । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएका शाहीले अहिले आफ्नी श्रीमान्लाई समेत स्वदेश फर्काएकी छिन् ।

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरुपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताए । उनीहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृषितर्फ पाइला अघि बढाएका छन् ।

अहिले जिल्लामा उनीहरूले कृषि पेसालाई अँगालेर जुन खालको मेहनत गरिरहेका छन् यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहर बजार केन्द्रित हुँदै गर्दा कृषि बाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उनीहरुले सन्देश दिएका छन् ।

युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ । स्वदेशमै भएकाहरू पनि सहर बजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् ।