Logo

बागमती पेज

श्रावण १९, २०७९ बिहीबार

बाबुको रोलमा तयार भएनन् अभिनेता राजेश हमाल


काठमाडौं । अभिनेता राजेश हमाल ‘सेन्स अफ ह्युमर’ले पनि चर्चामा आउँछन् । उनीमाथि जति जोक्स र मिम बने, सायदै अरु कलाकारको बनेको छैन । उनी बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि बनेर पुगे । त्यसक्रममा उनले सञ्चारकर्मीसँग क्याजुअल भलाकुसारी पनि गरे ।

भलाकुसारीको विषयमा आफूलाई बाउको रोलको लागि गरिएको प्रस्तावदेखि भुवन केसी र आफ्ना जोक्ससम्म थिए । साथै, उनले एकपटकको नेपाली सधैंको लागि नेपाली हुने भन्दै विदेशमा रहेका नेपालीको मन जित्ने पनि प्रयत्न गरे ।

‘छड्के २’सहित केही फिल्ममा उनलाई बाउको रोलको अफर आएको खबर बाहिरिएको थियो । ५० लाख रुपैयाँ पारिश्रमिक प्रस्ताव गर्दा पनि उनले यो रोल गर्न नमानेको जनाइएको थियो । यसबारे सोधिएको कमेन्टमा हमालले केही व्यंग्यमिश्रित यथार्थ खुलाए । उनले भने, ‘बाबु त हुन्छु तर म बाआमाको बाबु हुन्छु । छोराछोरीको होइन । के यो बाउ हुने उमेर हो र ?

हमालको यो कटाक्षभित्र उनको मर्म पनि अवश्य लुकेको छ । जीवनभर नायकको भूमिका निर्वाह गरेका हमाल अझै पनि अन्य चरित्रमा आफूलाई रुपान्तरण गर्न मनोवैज्ञानिक रुपमा तयार छैनन् भन्ने संकेत यसले दिन्छ ।

सोही क्रममा हमालले आफ्ना समकालीन अभिनेता भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सुझाएका छन् ।