Logo

बागमती पेज

श्रावण २३, २०७९ सोमबार

दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल र कृष्णबहादुर महरा भिड्ने तयारी


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बन्न सफल उनी हाल पार्टीको महासचिव छन् । त्यसैले पनि उनी अब प्रदेश छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् ।

दाङ क्षेत्र नम्बर २(क) बाट २०७४ सालको स्थानीय निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित उनी आसन्न निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने बताइएको छ ।

उनले अहिले आफ्नो क्षेत्रमा चुनाव जित्ने विश्वासिलो पात्रको खोजी गरिरहेको एमालेका नेताहरु बताउँछन् । उनले जितेको दाङ–२ (क) मा एमालेबाट बलिभद्र राना र सीता न्यौपानेमध्ये कोही उम्मेदवार बन्न सक्ने चर्चा छ ।

राना एमाले लुम्बिनी प्रदेश सदस्य तथा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हुन् । यस्तै न्यौपाने घोराही उपमहानगरपालिकाको पूर्व उपमेयर हुन् । यस्तै दाङ क्षेत्र नम्बर २ (ख) बाट एमाले प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय अनुशासन आयोग सदस्य छविलाल ओली, प्रदेश सदस्य गिरीराज केसी उम्मेदवार बन्ने चर्चा छ ।