Logo

भवानी कार्की

श्रावण २५, २०७९ बुधबार

लोप हुँदै गएको संस्कृति जोगाउँदै थामी समुदाय


काठमाडौँ । २८ औँ विश्व आदिवासी जनजाति दिवस २०७९ देशभर विभिन्न कार्यक्रम गरी मनाइको छ । यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

आदिवासी जनजाति दिवसको अवसरमा थामी समुदायले यापती सोनारी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । थामी समुदायको लोप हुँदै गइरहेको संस्कृति र पहिचानलाई उजागर गर्दे यस कार्यक्रमको आयोजना गरिएको कलाकार शेरा थामीले बागमती पेजलाई जानकारी दिएका छन् ।

कार्यक्रममा थामी समुदायको झाँकी प्रदर्शन सहित कलाकारहरूले चेतनामूलक थामी भाषाका गीत गाएर मनोरञ्जन गराएका थिए । विशेष गरी थामी समुदायको पहिचान झल्किने बाजा गाजा र भेसभुसा सहित उपस्थित भएका सीमान्तकृत थामी समुदायले हर्षोल्लासका साथ कार्यक्रममा सहभागी भएका थिए ।

विशेष गरी थामी जातिहरूले आफ्नै मातृभाषाको रूपमा थाङ्मी खाम बोल्ने गर्दछन् । थामी जातिको उद्गम थलो दोलखा जिल्ला हो । जिल्लाको भीमेश्वर नगरपालिका–१ स्थित राङराङथलीमा यस जातिको उत्पत्ति भएको हो । अहिले पनि थामी समुदायको कला संस्कृति, भेसभुसा, ऐतिहासिक, पौराणिक, पुस्तक तथा विभिन्न थामी सामाग्रीहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त राङराङथलीलाई थामी समुदायको विशेष संग्राहलयको रूपमा स्थापना गरेको छ ।

थामी समुदाय अर्थात् किराँत जातिका मानिसहरू विशेष गरेर प्रकृति प्रेमी र प्रकृतिलाई पूजा गर्दै आई रहेका छन् । किराँत समुदायको मुख्य धर्म भनेको उँधौली उभौली हो ।

विशेष गरेर कलाकारहरूको पहलमा आयोजना गरिएको यापती सोनारी सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो । थामी समुदायको लोप हुँदै गइरहेको भेसभुसा, भाषा, सांस्कृतिक लगायतलाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वीर बहादुर थामी (गुरु आप्पा)ले साङ पोलेर कार्यक्रमको उद्घाटन गर्दै सेतो टीका लगाई आशीर्वाद प्रदान गरेका थिए । कार्यक्रममा कलाकार शेरा थामी, शेखर थामी, अरुणा थामी, सूर्य कुमार थामी,रमन थामी, चन्द्र थामी, तीर्थ थामी लगायतले थामी भाषाका प्रस्तुति दिएका थिए ।