Logo

बागमती पेज

श्रावण २९, २०७९ आईतबार

संसदीय चुनावमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ ।

आइतबार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले अन्य आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाएपछि मात्रै उम्मेदवारी दर्ता हुने बताए ।

प्रमुख आयुक्त थपलियाले भने, ‘उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने, निर्वाचित भएपछि सो विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका ब्यक्ति निर्वाचित नभएमा सो विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’

यसका लागि आयोगले निर्वाचन कार्यविधि संशोधन गर्ने वा निर्वाचन आचार संहितामा उम्मेदवारी दिँदा सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान राख्ने तयारी गरेको छ । यसबारे राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको आयोगको भनाई छ ।