Logo

बागमती पेज

श्रावण ३१, २०७९ मंगलबार

किन गर्ने पाथिभरा देवीको दर्शन, यस्तो छ अलौकिक शक्ति !


नेपालको सुदुर पूर्व ताप्लेजुङ जिल्लामा अवस्थित ‘श्री पाथीभरा देवी’ एक धार्मिक पृष्ठभूमि बोकेको तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको एक ऐतिहासिक स्थल हो ।

पूर्व पश्चिम राजमार्गको धरान–धनकुटा तथा इलाम–फिदिम हुँदै नागवेली झै घुमेको बाटो पार गर्दैै प्रवेश गरिने जिल्ला ताप्लेजुङ साच्चिकै धार्मिक सांस्कृतिक तथा प्राकृतिक दृश्यले दुलही जस्तै सिगारिएको छ ।सवैको मन मस्तिष्कमा हरपल सम्झनामा रहिरहने क्षेत्र पाथीभरा यही पर्ने हुनाले यहाँ वाह्य पर्यटकदेखि लिएर आन्तरिक पर्यटकहरुको प्रायः घुइँचो नै लागिरहन्छ ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथिभराको पवित्र धाम ताप्लजेङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्गबाट लगभग १६–१७ किमि पुर्वोत्तर ३७६४ मीको उचाइमा अवस्थित छ । भरेको पाथी झै सुन्दर मनमोहक आकृति वोकेको पाथिभरा पहाडको शिखरमा देवी भगवतीको धाम रहेकाले यी देवीको नाम ‘पाथिभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । पाथिभरा देवीको उत्पत्ति सम्वन्धमा थुप्रै किम्मदन्ति तथा जनविश्वास रहेका छन् । भनिन्छ – परापूर्वकालमा पाथिभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ एक पटक पाथिभरामा राखेका थिए । एक दिन अचनाक वथान भेडाहरु अलप भए ।

त्यस्तो अकल्पनीय घटनाले स्तव्ध भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भइ आफ्नो उत्पत्ति स्थल र आकृतिको वोध गराउँदै भेडावली सहित पूजा अर्चना गर्न निर्देशन दिनु भयो । आत्मावोध प्राप्त गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सवैभन्दा स्वस्थ हृष्टपुष्ट भेडाको थुम्वा वली दिए । वली के दिइएको थियो– ती हराएका सयौ भेडाहरु जस्ताको त्यस्तै पहिलाकै ठाउँमा देखापरे । त्यो भन्दा अझ आश्चर्यको कुरा वली दिएको भेडाको रगत वली स्थलमा झर्ना साथ वालुवामा पानी हराएझै हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरुले देवीको जयजयकार गरे ।

पाथीभरा देवीलाई दैनिक सयौको संख्यामा भेडा, वोका, पाठा, पाठी बलि चढाइन्छ तर वली स्थलमै रगत हराएर सिमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्छन् । देवीमा चढाइएको वली संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन यही कारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहिआएको छ ।

आज पाथीभरा देवीको महिमा देवी प्रतिको आस्था एवं विश्वासले गाउँ, जिल्ला र देशको सीमा नाग्दै विदेशमा समेत पुगेको छ । जसको परिणाम स्वरुप हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु देश तथा विदेशबाट देवी दर्शनको निम्ति आउने क्रम जारी नै छ ।यस स्थानमा विश्वमा नै अति दुर्लभ मानिएको केवल ‘नेपालमा मात्र पाइने काडे भ्याकुर, मोनाल, चिलिमे तथा फुत्रगसका वथानहरुले स्वागत गर्न सक्छन् । झुल्कदो घामको समयपख लेकाली मृगको हाँचले तपाईसँग लुकामारी खेल्न रुचाउँछन् ।

नेपाल अधिराज्यमा पाइने गुरासका ४५ प्रजाति मध्ये २३/२४ गुरासका प्रजातिहरु पाइने कुरा फुल विशेषज्ञहरु बताउँछन् । चैत्र तथा वैशाखको मौसममा सम्पूर्ण पाथीभरा क्षेत्र गुराँसले धपक्क बलेको हुन्छ । यो मौसममा तपाई हामी रातो सुनपाती, झुसे सुनपाती, पहेलो चिमाल, लालीगुराँस जस्ता विभिन्न प्रजातिका गुराँसहरु जंगलमै रंगी विरंगी पारेर ढकमक्क फुलेको पाउनुहुनेछ । यहाँको यात्रा गर्दा लाग्दछ मानौ मिठो सपनाको अलौकिक काल्पनिक सुन्दर वगैचामा घुमफीर गरिदैछ ।

दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति देख्नुहुन्छ । जुन विभिन्न धातुबाट बनेको छ जसको मूल्य ९ लाख परेको हुनाले नैलाखे मुर्ति पनि छ ।यस्तो धार्मिक, सांस्कृतिक, दैवीक शक्ति तथा प्राकृतिक शौन्दर्यता अवलोकन गर्न तपाई हामी एकचोटी जानैपर्छ ।