Logo

बागमती पेज

भाद्र १, २०७९ बुधबार

दोलखाबाट गठबन्धनतर्फ खड्का, काफ्ले र शिवाकोटीको दाबी


काठमाडौँ । दोलखाबाट संघीय चुनावमा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले दाबी गरेका छन् । माओवादीबाट बाग्मती प्रदेशसभा सदस्य एवम् वन तथा वातावरण मन्त्री खड्काले संघीय सांसदका प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

काफ्ले विद्यार्थी संगठन र शिवाकोटी पत्रकारिता क्षेत्रबाट भर्खरै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । गठबन्धनबाट खड्कासहित तीन जनाले दाबी गरेकाले कसले पाउने भन्ने विषयमा निक्कै प्रतिस्पर्धा चलेको छ । काँग्रेस सांसद जिपछिरिङ लामाले यो पटक चुनाव नलड्ने भएकाले खड्कासहित तीन जना मात्रै आकांक्षी देखिएका हुन् । खड्का २०७० सालको दोस्रो संविधानसभा चुनावमा गुरुङसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला खड्का गुरुङसँग थोरै मतले पराजित भएका थिए । २०७४ सालको चुनावमा समेत खड्काले संघीय सांसदका लागि दाबी गरेका थिए ।

वाम तालमेलमा गुरुङलाई मिलाउनुपर्ने भएपछि पार्टीका लागि भन्दै खड्काले छोडेका थिए । अहिले संघीय चुनावमा जसरी पनि प्रतिस्पर्धा गर्ने तयारी गरेको खड्काले बताए । ‘मैले दोलखाको विकास निर्माणमा अरु नेताभन्दा धेरै नै योगदान गरेको छु । दोलखाली जनताको सुख दुःखमा सधैं साथमा छु’ खड्काले भने, ‘यसअघि नै संघीय चुनावमा लड्ने तयारी हुँदाहुँदै पार्टीको निर्णय भन्दै गुरुङजीलाई छोड्न तयार भए । योपटक मेरो सजिलै गठबन्धनबाट टिकट मिल्ने भन्ने विश्वास छ ।’ अहिले वन तथा वातावरण मन्त्रीको रुपमा दोलखासँगै सिंगो प्रदेशका पक्षमा काम गरिरहेको खड्काले बताए ।

यता माओवादीकै पोलिटब्युरो सदस्य देवी खड्काले पनि प्रतिनिधिसभामा दाबी गरेपनि समानुपातिकमा बस्ने देखिएको छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य काफ्लेले आफु समेत संघीय सांसदका लागि दाबेदार भएको बताए । ‘पार्टीबाट प्रतिनिधिसभामा धेरैले दाबी गर्नुभएको छ, अन्तिममा काँग्रेसबाट मेरो र अजय शिवाकाटीजीको प्रतिस्पर्धा हुने देखिएको छ’ उनले भने ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा दोलखाका ९ तहमा माओवादीले जित हासिल गरेको छ भने काँग्रेसले ३र३ पालिका जितेको छ । दुई पालिका एमाले र एउटा एकीकृत समाजवादीले जितेको छ ।