Logo

बागमती पेज

भाद्र १२, २०७९ आईतबार

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन


काठमाडौँ । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।

धेरै किसानले स्याउ टिपेर बिक्री राम्रै आम्दानी लिइसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ ।

स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको उनले बताए । त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ ।

जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु४० र ए ग्रेडको स्याउ प्रतिकेजी रु ६० भन्दामाथि बिक्री भइरहेको छ ।

कार्यालय प्रमुख अधिकारीका अनुसार सहजकर्ता, थोक बिक्रेता हुँदै खुद्रा व्यापारी भएर स्याउ बजारमा जानुपर्नेमा स्याउ कृषक स्वयं व्यापारी बन्दा उनीहरुले अपेक्षाकृत मूल्य पाउनेभन्दा दुःख बढी व्यहोरेका छन् । स्याउ भने दैनिक जुम्ला बाहिर गइरहेको छ ।