Logo

बागमती पेज

भाद्र १५, २०७९ बुधबार

एमाले प्रवेश गर्ने सुइँकोपछि एकीकृत समाजवादीका मन्त्री बर्खास्त !


काठमाडौं : एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

चौधरी २५ चैत २०७८ मा मन्त्रीमा नियुक्त भएका थिए । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रावलको भनाइ छ ।

स्रोतका अनुसार कुलवीर आजै कञ्चनपुरमा हुने कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दै छन् । पार्टी प्रवेश गराउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगिसकेका छन् ।

एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो ।

आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रदेश गर्ने कार्यक्रम रहेको छ । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ । मुख्यमन्त्री निकट स्रोतले चौधरीलाई बर्खास्त गरेको बतायो ।

प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए। उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन्।

बुधबार प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी लगायतका नेता एकीकृत समाजवादी त्यगेर पुनः एमालेमा फर्कदैछन्।

उनीहरूलाई पार्टी प्रवेश गराउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर पुगेका छन्। यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन्।