Logo

बागमती पेज

भाद्र २०, २०७९ सोमबार

गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी


काठमाडौँ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरु दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाई समेत प्रभावित गरेर भारतीयलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ ।