Logo

बागमती पेज

भाद्र २३, २०७९ बिहीबार

नक्सा पास नगरी बनाइएको भवनहरुको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका भवनहरूको नक्सा ९० दिनभित्र पास गर्न आग्रह गरेको छ ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा पास गर्न आग्रह गरेको हो ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिन भित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत, नियमित गर्न सम्बद्ध सबै व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरेको छ ।

काठमाडौं महानगरपालिका नगर सभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा “प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ” भन्ने नीति समेत उल्लेखित भई पारित भएकोले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ।

तोकिएको समयभित्र नक्सा पास नगरेमा त्यस्ता भवनहरूको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने महानगरले बताएको छ ।