Logo

बागमती पेज

आश्विन ५, २०७९ बुधबार

पुरानो मेडिकल कलेजले डायलासिस सेवा रोक्यो, सरकारले पैसा नदिएको गुनासो


काठमाडौँ । सरकारले रकम नदिएको भन्दै चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) ले मिर्गौला रोगीको नियमित डायलासिस सेवा रोकेको छ ।

यो मेडिकल कलेजबाट दैनिक ४७ जना बिरामीले निशुल्क डायलासिस सेवा लिदै आएका छन् । मेडिकल कलेजले निशुल्क डायलासिस सेवा दिएवापत सरकारले दिनुपर्ने रकम नदिएको भन्दै कलेजले सेवा रोक्दा मारमा भने मिर्गौला रोगी बिरामी परेका छन् ।

तनहुँ, लमजुङ, गोरखा, नवलपरासी, मकवानपुर, चितवनका मृगौला रोगीले कलेजमा नियमित निशुल्क डायलासिस गराउँदै आएका थिए । मिर्गौला पीडित सरोकार समाज चितवनका सल्लाहकार जीवनाथ पराजुलीले सरकारले रकम नदिएको बहानामा कलेजले डायलासिस सेवा रोक्नु गलत भएको बताए ।

सरकारले दिनुपर्ने रकम नदिएको भन्दै कलेजले असोज १ गतेबाट निःशुल्क डायलायसिस रोक्ने भन्दै सूचना जारी गरेको थियो । कलेजको सूचनापछि मिर्गौलापीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य मन्त्रालय नर्सिङ तथा स्वास्थ्य महाशाखा काठमाडौँमा ज्ञापनपत्र बुझाएको थियो ।

कलेजले स्वास्थ्य बीमाका बिरामीलाई बीमाअन्तर्गत र बीमा नगराएकाको हकमा शुल्क लिएर सेवा दिन सक्ने जनाएको छ ।