Logo

बागमती पेज

आश्विन ५, २०७९ बुधबार

४१ ठूला करदातालाई काठमाडौं महानगरको पत्र : ‘१० दिनभित्र राजस्व तिर्न निर्देशन’


काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिंदै पत्र काटेको छ । बुधबार पत्र लेख्दै महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको छ ।

रेडक्रस र स्काउट देखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्र काटिएको हो । १० दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल उपर गरिने सूचनामा उल्लेख छ ।

जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।