काठमाडौँँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्दै पूर्व आईजीपी खनालले अध्यक्ष ओलीजत्तिको नेपालमा अर्को कुनै नेता नभएको जिकिर गरे। उनले प्रहरीको जागिर खाँदादेखि आईजीपी हुँदासम्म ओलीसरहको नेता अर्को नभेटिएकाले ओलीको भाषणबाट लालायित भएको बताए ।
खनालले राष्ट्र र नेपाली नागरिकप्रतिको भूमिकाप्रति सम्मान गर्दै अध्यक्ष ओलीको छत्रछायाँमा काम गर्ने इच्छा जागेर एमाले प्रवेश गरेको स्पष्ट पारे । उनले प्रहरी सेवामा आफ्नो कार्यकालमा प्रधानमन्त्री भएको बेला अध्यक्ष ओलीले राम्रा काममा मात्रै सघाएको बताए । खनालले अध्यक्ष ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्रसमेत रहेको दाबी गरे ।
पूर्व आईजीपी खनालले एमालेको इमानदार सिपाहीको रूपमा पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्ने बताए । नेपालको शिर सधैँ उच्च राख्ने काममा एमाले पार्टीमा रहेर अग्रपङ्क्तिमा रहने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्