Logo

बागमती पेज

आश्विन ६, २०७९ बिहीबार

कपन आगलागी: दुई तला माथिबाट हामफालेर बाँचिन् गर्भवती


काठमाडौं । काठमाडौंको कपनस्थित टंक घिसिङको घरमा बुधबार एक्कासी विष्फोटको आवाज सुनियो । छिमेकी बाहिर निस्किएर हेरे । भूइँतलाबाट सल्केको आगोको लप्का दोस्रो तलामा पुग्न खोज्दै थियो । भुँइतलामा ४ जना थिए ।

‘अचानक विष्फोटको आवाज सुनियो’ छिमेकी सानु केसी भन्छिन्, ‘त्यसपछि आगो फैलिहाल्यो, पछिसम्म विष्फोटको आवाज आइरहेको थियो ।’

इलाइट हिमालयन एडभेन्चरको कार्यालयबाट आगो सल्किएपछि सो क्षेत्रमा कोलाहल मच्चिन थालेको थियो । सो ट्रेकिङ अफिस निर्मल पूर्जा र मिङ्मा डेभिड शेर्पाले संचालन गरेका हुन् । घरको दोस्रो तलामा थिइन्, फुर्पा शेर्पा । घरधनी टंक घिसिङकी साली हुन्, फुर्पा ।

आगोको लप्का दोस्रो तलामा पुग्दै थियो, फुर्पा हाम फालिन् । छिमेकी भन्छन्, ‘गर्भवती थिइन्, साहस गरेर हामफालिन् ।’ सामान्य उपचारपछि फूर्पा अहिले ठिकठाक छिन् । निर्मल र मिङ्माले भाडामा लिएर सो ट्रेकिङ अफिस संचालन गरेका हुन् । ट्रेकिङमा पार्टेशनको कामका लागि गएका ३ जनाले आगलागीमा परेर ज्यान गुमाएका छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र धानुकका अनुसार मृत्यु हुनेमा संखुवासभा घर भएका अशोक राई, ताप्लेजुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं महानगरपालिका–२५ मा बस्दै आएका छेवाङ शेर्पा छन् । मृतक अशोक राई सुकेधारा बस्थे ।

साँझ करिब ५ बजेर ३० मिनेटमा एलपी ग्याँस सिलिन्डर विष्फोट भएर आगलागी शुरु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । भूइँतलामा रहेको ट्रेकिङमा १० वटा एसपी ग्यास सिलिन्डर र ३० वटा अक्सिजन सिलिन्डर थियो । अधिकांश सिलिन्डर विष्फोट भएका छन् ।

आगलागी हुँदा घरधनी घिसिङका परिवार थिएनन् । उनीहरु घुम्न गएको छिमेकी बिनोद केसीले बताए । आगलागीमा परेर कुशल बुढाथोकी घाइते भएका छन् । २८ वर्षीय कुशलको अवस्था चिन्ताजनक छ । ट्रेकिङ अफिसमा खाना र खाजा पकाउन एलपी ग्यास राखेको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् । केही कर्मचारी कार्यालयमा नै खाने र बस्ने गर्थे । आगलागीको कारणबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ । – रातोपाटी