Logo

बागमती पेज

आश्विन १०, २०७९ सोमबार

प्रचण्डले हेरे फिल्म ‘प्रेमगीत ३’,भन्छन्- ‘मसालेदार’ नेपालको पर्यटन प्रवर्द्धनमा मद्दत गर्छ


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग प्रचण्डले फिल्म हेरेका हुन् ।

पूरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा सञ्चारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको भन्दै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसालेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे ।

उनले भने यसमा धेरै चीज एकैठाउँमा मिसाएर प्रस्तुत गरिएको छ र बडो मसालेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्ममा युनिक खालको प्रस्तुति देखियो ।