Logo

बागमती पेज

कार्तिक ४, २०७९ शुक्रबार

गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन : देउवा


पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न चुनावले देशमा राष्ट्रिय एकता कायम गर्दै समावेशी लोकतन्त्रलाई अघि बढाने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय गठबन्धनको कार्यकर्ता भेलामा बोल्दै देउवाले अहिलेको चुनाव धेरै महत्व बोकेको चुनाव भएको बताए ।

देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेको भन्दै गठबन्धन आवश्यक रहेको पनि बताए । ‘सबै पार्टी मिलेको खण्डमा मात्रै सरकार बन्छ । भूगोल, राजनीतिले पनि सबै मिलेर बस्नुपर्ने आवश्यक छ । सबैका लागि यो महत्वपूर्ण उपलब्धि हो ।’

देउवाले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याए । ‘हिजोका कुरा ल्याएर केही काम छैन । राजनीतिमा हिजो–आजका कुरै छैन । गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु हुँदैन’, उनले भने, ‘राजनीतिक पार्टी अलगअलग पृष्ठभूमिबाट आएका हुन्छन् । हिजोका लडाइँका कारण होलान्, ती बितेका कुरा भए । राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने, बिसाउनुपर्ने हुन सक्छ । अहिलेको प्राप्ति सबैको जित हो ।’

केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिए । ‘हामी माथि माधवजी, प्रचण्डसँग कति राम्रो सम्बन्ध छ, तल पनि हुनुपर्‍यो । आपसमा सम्बन्ध बढाउने काममा लाग्नुपर्छ ।’ टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उनले बताए ।