Logo

बागमती पेज

कार्तिक १६, २०७९ बुधबार

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै


काठमाडौँ । जबरजस्ती करणीको कसुरमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस आज हुने भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिएपछि बुधबार थुनछेक बहस हुन लागेको हो ।

मंगलबारबाट सन्दीपको बयान लिन सुरु गरिएको भए पनि केही समय बत्ती गएको र बयान लामो भएको कारण मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखेका छन् । बुधबार इजलास खुल्ने बित्तिकै उनीमाथि थुनछेक बहस सुरु हुनेछ ।

सम्भव भएसम्म बुधबार नै थुनछेक बहस सकाउने तयारी गरिएको छ । यद्यपि सरकारी वकिल र प्रतिवादीका वकिल गरी करिब १० जना थुनछेक बहसमा सहभागी हुने तयारी गरिएकाले आजै थुनछेक बहस सकिने वा नसकिने टुङ्गो छैन । बुधबार सुरुमा सरकारी वकिलका तर्फबाट सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै त्यसका आधार र प्रमाण पेस हुनेछ ।

सन्दीपले गरेको कसुर, उनलाई हुनसक्ने सजाय, बाहिर राख्दा पुग्न सक्ने क्षति आदि कुरालाई मध्यनजर गर्दै सन्दीपलाई थुनामै राख्नुपर्ने भन्दै वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सुरुवाती बहस गर्नेछ ।