Logo

बागमती पेज

कार्तिक २४, २०७९ बिहीबार

सिन्धुली कांग्रेसलाई धक्का : उम्मेदवार समेत ७८४ जना एमालेमा प्रवेश


काठमाडौँ । निर्वाचन नजिकिएसँगै सिन्धुलीमा पार्टी परित्याग गर्दै एमालेमा जाने नेता कार्यकर्ताको बढ्दो आकर्षण छ । सिन्धुली क्षेत्र नं १ फिक्कल गाउँपालिका भित्रका ७८४ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

फिक्कल गाउपालिका वडा नं ५ का नेपाली कांग्रेसबाट पूर्व वडाध्यक्षका उम्मेदवार यादव क्षेत्री, गाउँपालिका उपसभापति गोकर्ण बुढा क्षेत्री, फिक्कल–२ का वडा समिति सचिव मोहन काफ्ल ३ का क्षेत्रीय प्रतिनिधि सरीमाया तामाङ, क्रियासिल सदस्य खगेन्द्र पहाडी लगायत विभिन्न नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । गत साता फिक्कल–६ बाट प्रेम बहादुर रईको नेतृत्वमा ५० भन्दा बढि एमालेमा प्रवेस गरेका थिए ।

विगत केहिमहिना भित्र नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेस गर्नेको संख्या बढ्दै गएको गाउँकमिटी अध्यक्ष राम प्रसाद भण्डारीले बागमती पेजलाई जनाएका छन् । पार्टीमा व्यक्तिवाद र निरंकुशता हाबी भएको भन्दै नेता कार्यकर्ता एमालेमा प्रवेस गरेका हुन् ।

प्रदिप कटुवालको सक्रियता :

संघिय निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुलीमा केन्द्रसम्म प्रभाव पर्नेगरी नेता कार्यकर्ताहरू दलबदल गरिरहेका छन् । यसैक्रममा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका कटुवाल धमाधम जिल्लामा प्रभाव पार्नसक्ने अर्को दलका नेतारकार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याईरहेका छन् ।

गत ३ कार्तिकमा पनि उनले माओवादी केन्द्र फिक्कल इन्चार्ज मुरारी भण्डारी लाई पार्टी प्रवेशका लागि बालकोट र्पुयाएका थिए । कटुवाल ओली परिवारसँग नजिकका मानिन्छन् ।

विगतमा एमाले विभाजनका क्रममा समेत विशेष भूमिका खेल्दै आएका कटुवाल एमालेको कुशल योद्धाका रुपमा पनि परिचित छन् । ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेससँगको पेचिलो प्रतिस्पर्धामा विजयी भएर प्रदेशसभा छिरेका उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हाले ।

केन्द्रमा अध्यक्ष केपी ओलीको राम्रो साथ पाएका कटुवाल आफू निर्वाचित क्षेत्रका प्राय गतिविधिमा सामेल भइरहेकै हुन्छन् । पछिल्लो समय निर्वाचनलाई केन्द्रमा राखेर जिल्लाका विभिन्न क्षेत्रमा कटुवाल निकै सक्रिय छन् ।