Logo

बागमती पेज

मंसिर १५, २०७९ बिहीबार

थापाथलीका सुकुम्वासी हटाउने महानगरको कदमलाई झाँक्रीको समर्थन


काठमाडौँ । थापाथलीका सुकुम्वासी हटाउन लागी परेको काठमाडौँ महानगरपालिकालाई एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएकी छन् ।

नदी अतिक्रमण गरी बस्ती बसालेर बस्नेलाई सरकारी पक्षबाट सुरक्षा दिएको भन्दै बालेनको निर्णयमा आफू सहमत रहेको बताएकी हुन् ।

सचिव झाँक्रीले सुकुम्वासी बस्ती हटाउन भइरहेको प्रयास र नदी अतिक्रमणबारे सामाजिक सञ्जालमार्फत केही सुझावसमेत दिएकी छन् ।

उनले भनेकी छन्, “हाल बालेन जीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पुरापुर साथ र समर्थन छ। बालेन जी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपूर्जा धारीलाई पनि तत्काल छानबिन गरी कारबाही अगाडी बढाउनुपर्छ।”

“विभिन्न धार्मिक प्रयोजनका भजन मण्डली, पूजा गृह, क्रियापुत्री भवन, ॐ शान्ति, सत्य साई, रविशंकर आदीको नाममा रिटायर्ड कर्मचारी, व्यापारी आदीले कब्जा गरेका छन्। त्यसको पनि छानबिन गर्नुपर्छ ।”

बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरिए पनि  यस्तो अतिक्रमणलाई राजनीतिक संरक्षण हुँदा प्रभावकारी काम हुन नसकेको समेत झाँक्रीको भनाई छ ।