Logo

बागमती पेज

मंसिर २७, २०७९ मंगलबार

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइँनभ्याइँ


सिन्धुली | बारी र बगैंचा मात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेंलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइँनभ्याइँ छ ।

गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ । बीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन् । उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ,’ उनले भनिन् ।

विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् ।

‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रूपमा लैजाने गरेका छन्,’ स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन् । एकैदिनमा ५० हजार रुपैयाँसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् ।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताइन् । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको १ लाख बचत गर्छिन् ।

खनियाखर्क बजार आसपासमा मात्रै ३० जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरूपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि रु ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि रु १२० रुपैयाँसम्ममा जुनार बिक्री गर्दै आएका छन् ।

गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष ७ लाख २० हजार आम्दानी भएको बताए । उनको बगैंचामा १ हजार ५०० जुनारका बोट रहेका छन् । – राधिका बुढाथोकी/रासस