Logo

बागमती पेज

मंसिर २८, २०७९ बुधबार

विवाह संस्कृति हो, विकृतिको रुपमा लानुहुँदैन: उपप्रमुख लामा


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामाले पछिल्लो समय बदलिएको विवाहको रुपलाई टिप्पणी गरेकी छन् । उपप्रमुख लामाले विवाह एउटा संस्कृति भए पनि आजभोलि विवाहको नाममा भइरहेको विकृतिको विरोध गर्दे सामाजिक सञ्जाल मार्फत आफ्नो धारण व्यक्त गरेकी हुन् ।

उपप्रमुख लामाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, “विवाह एउटा संस्कृति हो तर आजभोलि विवाहको नाममा गरिने मेहेन्दी, हल्दी, ब्याच्लर पार्टी आयातित मज्जा र लज्जाहरू हुन् । हजारौँ भीड र लाखौँको भोज देखासिकी र अभिमानको भोक हो । खुसुक्क दुलाहाको घरमा फर्निचर सेट र खातामा चेक दाइजोको कुरूप परिचालन हो ।”

यति मात्र नभएर उपप्रमुख लामाले निम्तालुलाई जिन्सी निषेध भन्नू र निम्तालुले दिएको खाम खोलेर रकम लेख्नु भोज होइन रकमको खोज भएको समेत बताएकी छन् । संस्कृतिको नाममा यस्ता पश्चिमा देखा सेखीले नेपाली मौलिक संस्कृतिलाई कुरूप बनाएको भन्दै यस्ता संस्कृतिले समाजमा विभेदको खाडल हिरो बनाउने उनको भनाई छ ।

पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गइरहेको विवाहले समाजमा कम आयस्रोत भएका परिवार र आफन्तका लागि बिहेको निम्तो स्विकार्न समेत सकस भएको छ । समाजमा देखा सेखीको विवाह र अनावश्यक खर्चका कारण आयस्ता कम भएका परिवारजनलाई दुखी तुल्याउने भाव उपप्रमुख लामाको स्ट्याटसमा देख्न सकिन्छ । 

उनले सबैजनाप्रती जीवनयापनलाई उच्च संस्कृतियुक्त बनाउनतर्फ लाग्नुपर्ने सुझाव पनि व्यक्त गरेकी छन् ।