Logo

बागमती पेज

पुस २१, २०७९ बिहीबार

बबरमहलमा पठाओ दुर्घटना, कलाकार सन्ध्या खड्का घाइते


काठमाडौं । फिल्म तथा टेलिभिजन कलाकार सन्ध्या खड्का सडक दुर्घटनामा घाइते भएकी छन् । उनी सवार पठाओको मोटरसाइकल काठमाडौंको बबरमहलमा कारसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी खड्काको शरीर र टाउकोमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई भेटेर फर्किएका कलाकार उत्तम केसीले खड्काको टाउकोमा ३० वटा टाँका लगाइएको र अहिले बोल्न सक्ने स्थितिमा रहेको जानकारी दिए ।

‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । बोल्न सक्ने भएकी छन् । पठाओ चालकले पनि उपचारमा सहयोग गरिरहेका रहेछन्,’ केसीले भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

उपचार गराइरहेकी कलाकार खड्काले पनि टेलिफोनमार्फत कुरा गर्दै स्वास्थ्यमा केही सुधार भएको बताइन् । खड्काले फिल्म सोच, रुमालै छ चिनो, नदेखिएको जातमा अभिनय गरेकी छन् ।

टेलिफिल्म उल्टो सुल्टो, नारी, सन्ध्या, ठिक्कै छ, परिवार, टुहुरी, बुहारीमा अभिनय गरेकी छन् । यसबाहेक म्युजिक भिडियोमा समेत उनले अभिनय गरेकी छन् ।