Logo

बागमती पेज

माघ १२, २०७९ बिहीबार

बाल उद्धारले शुरु गर्यो ई-बुलेटिन


काठमाडौं । नेपाल सरकारकाद्वारा नमूना विद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले बसन्त पन्चमीको अवसर पारेर बाल उद्धार ई–बुलेटिन सार्वजनिक गरेको छ ।

प्रविधिमैत्री रुपमा बूढानीलकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अब्बल मानिएको बाल उद्धार माविले ई–बुलेटिन सार्वजनिक गरेसँगै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत शुभचिन्तकहरुमा सूचना र प्रविधिसँगको पहुँचलार्ई थप टेवा पुर्याउने देखिन्छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले शैक्षिक सुधारका लागि विभिन्न नविनतम सीपहरु प्रयोगमा ल्याउँदा शिक्षालाई जीवनसँग जोड्नका सहज हुने बताए । पहिलो पटक नेपाली संस्करणमा प्रकाशन गरिएको ई–बुलेटिन आगामी महिनादेखि अंग्रेजी र नेपाली भाषामा पालैपालो गरी मासिक रुपमा प्रकाशन हुने समेत प्रधानाध्यापक पण्डितको भनाई छ ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षा क्षेत्रका सरोकारवालाहरुको लेख, रचनासहित  विद्यालयका आन्तरिक तथा बाह्य गतिविधिहरु समेत ई–बुलेटिनमा समावेश गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले बताए ।

बाल उद्धार माविको वेबसाईट मार्फत पहिलोपटक प्रकाशन थालनी गरिएको ई–बुलेटिनले विद्यार्थी तथा शिक्षकहरुमा लेखनशैली, सीपको विकास र क्षमता बृद्धिमा टेवा पुग्ने अध्यक्ष घिमिले विश्वास लिएका छन् । निकै छोटो समयको तयारी र तयारीकै क्रममा परेको जाडो बिदाको कारण विद्यार्थी तथा शिक्षकहरुबाट प्राप्त हुने लेख रचनाहरु थोरै भएता पनि आगामी महिनादेखि प्रत्येक महिनाको १ गते विद्यालयको वेवसाईट र सामाजिक संजाल मार्फत ई–बुलेटिनको सार्वजनिक उनले जानकारी गराए ।

ई–बुलेटिन प्रकाशनका लागि बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, बूनपा १० का वडाध्यक्ष एवम् नगरप्रवक्ता नवराज भट्टराई र नगर शिक्षा प्रमुख ललितविक्रम सिंहले ई–बुलेटिनबाट विद्यार्थी र शिक्षकको शिक्षण सिकाईमा सुधार र अन्वेषण हुन गई विद्यालयको समग्र विकासमा योगदान पुग्ने बताए ।

नर्सरीदेखि कक्षा १२ सम्म करीव १६०० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमा कक्षा ११/१२ मा ६ वटा संकायहरु (कम्प्युटर इन्जिनियरिङ्ग, विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानून) संचालित रहेका छन् ।