Logo

बागमती पेज

माघ १९, २०७९ बिहीबार

बुनपा १३ मा पुराना शैलीमा निर्माण नहुने घर नक्सामा रोक


काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा घर नक्सा पासमा रोक लगाउने भएको छ । यस वडामा सांस्कृतिक, प्राचीन, ऐतिहासिक र लिच्छविकालीन बस्तीको रूपमा परिचित रहेका बस्तीहरू अवस्थित रहेको हुँदा हाल निर्माण गरिने घर पुरानै शैलीमा निर्माण नगरिएमा घर नक्सामा रोक लगाउने  भएको हो । 

यस वडाका बस्तीहरू गाम्चा, टुपेक, टुसाल र सापाटारमा घर निर्माण गर्दा पुरानै शैलीमा घर निर्माण अनिवार्य गरिएको छ । घर निर्माण गर्दा इँटा देखिने गरी, पोइन्टिन र दाचि इँटा प्रयोग गरी घर निर्माण गर्नुपर्ने वडाध्यक्ष टिकेश नारायण श्रेष्ठले बताएका छन् । 

अध्यक्ष श्रेष्ठका अनुसार बूढानिलकण्ठ नगरपालिकाद्धरा वडा १३ लाई सांस्कृतिक सहरको रूपमा घोषणा गरिएसँगै सांस्कृतिक सहरको रूपमा स्थापित गरी प्रभावकारी र कार्यान्वयनमा ल्याउनका निमित्त तोकिए अनुरूप घर निर्माण नगरिएमा घर नक्सा नै रोकिने भएको हो । 

निर्वाचित वडा समिति बाट नै निर्णय गरी वडाका इन्जिनियरलाई समेत घर नक्सा गर्दा ध्यान दिनलाई निर्देशन गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।