Logo

मेघनाथ पहाडी

माघ २१, २०७९ शनिबार

“कपन दर्पण” लोकार्पण, द्वय स्रष्टा सुवेदी र शर्मा सम्मानित


काठमाडौँ । कपन साहित्य समाजद्वारा प्रकाशित “कपन दर्पण” कविता विशेषाङ्क लोकार्पण समारोह सम्पन्न गरेको छ । शुक्रबार बूढानीलकण्ठ नगरपालिका– १० स्थित साहित्य समाजको कार्यालयमा सो कविता विशेषाङ्क लोकार्पण गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले कपन दर्पण लोकार्पण गर्दै साहित्यिक रचनाहरु गर्ने र यस्ता कार्यक्रलाई अझ अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । समाजलाई सकारात्मक परिवर्तन तर्फ लान साहित्य जगतको महत्वपूर्ण भूमिका रहने भएका कारण यस क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नगर प्रमुख अधिकारीले साहित्य क्षेत्रमा अरुको तुलनामा यस नगरपालिकाल सकारात्मक र रचनात्मक गतिविधि गर्न तयार रहेको बताउनुभयो । उहाँले नगरको तर्फबाट साहित्य क्षेत्रमा साथ र सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा “कसास यात्री स्मृति सम्मान–०७७” वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई र “कसास यात्री स्मृति सम्मान–०७८” वरिष्ठ साहित्यकार प्रा डा गार्गी शर्मालाई प्रदान गरिएको थियो ।

साहित्यकार प्रा डा गार्गी शर्माले कल्पना नगरिएको सम्मान पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता खालका सम्मानले आगामी दिनमा नयाँ रचनात्मक कृतिहरु लेख्न अझ प्रोत्साहन गरेको बताउनुभयो ।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित कसास यात्री स्मृति सम्मान प्रदान गर्दै आएको छ । यस अघि ०७५ मा प्रा दयाराम श्रेष्ठ सम्भव र ०७६ मा संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्गलाई प्रदान गरिएको थियो ।

“कपन दर्पण” कविता विशेषाङ्कमा एक सय एघार राष्ट्रिय तथा नवोदित कवि कवयित्रीहरुको रचना समेटिएको छ । पुस्तकको कभर पृष्ठमा करिव ५० वर्ष पहिलेको कपनको तस्विर समेटिएको छ

साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रले विगत देखि नै साहित्यिक रचनाहरु समावेश गर्दै आएको कपन दर्पणले आगामी दिनमा यसको निरन्तरता दिने जनाउनुभयो । साहित्यको क्षेत्रमा केही गर्छौ भन्नेहरुका लागि कपन दर्पण प्रेरणाको श्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । मेघनाथ पहाडी÷रासस