Logo

मेघनाथ पहाडी

माघ २४, २०७९ मंगलबार

फिक्कल विकास निर्माणमा तिव्रता


काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिकाले पूर्वाधार विकास निर्माणका काममा तिव्रता दिएको छ । फिक्कललाई पर्यटकिय स्थलका रुपमा स्थापित गर्न पालिकाले चासोकासाथ सडक निर्माणका काम अघि बढाएको हो ।

पालिकाले सुनकोशी गडतिर पुष्पलाल लोकमार्गबाट फिक्कल डाँडा सम्मको आवत जावतमा सहजता होस् भनि पालिका भित्रका विभिन्न स्थानबाट सडक सञ्जालका कामलाई प्राथमिकतामा राखेको छ ।

महत्वपूर्ण सडक योजना निगुरे खोला–लुम्ती हुँदै फिक्कल, तर्केनी–खाङसाङहुँदै फिक्कल र शोखु–रत्नावती हुँदै फिक्कलसम्म पुर्याउने सडक स्तरोन्नती र सडक निर्माणमा पालिका जुटेकोे पालिका अध्यक्ष पार्वती सुनुवारलले बागमती पेजलाई जानकारी दिईन् ।

अध्यक्ष सुनुवारले आफ्नो कार्यकाल भित्र कम्तिमा १०० किलोमिटर सडक कालोपत्र/ढलान गरेर बाह्रै महिना चल्ने बनाउने योजना रहेको बताएकी छन् । उनले विगतका दिनको जस्तो पानी पर्यो कि सडक समस्याका कारण आवत जावतमा हुने समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

फिक्कलमा सडक सञ्जालको विस्तारसँगै पर्यटकहरुको अवत–जावतमा थप सहज हुने भएपछि फिक्कल–३ चनौटेका व्यवसायीहरु समेत उत्साहित बनेका छन् ।

सबै स्थानबाट फिक्कलका छ वटै वडाकार्यालय सम्मको आवतजावत सहज गर्न पालिका लागि परेको उपाध्यक्ष राजु बरालको भनाई छ । उनले पालिका भित्रका सडक दीर्घकालिन रुपमा सञ्चालनमा चासोका साथ लागेको बताए ।

उपाध्यक्ष बरालले भने, “भदौरे- ढोडेनी- महादेवडाडा- दमार, ढोडेनी– महादेव डाँडा, चनौटे– दमार- महादेव डाँडा, नवपुर–लुम्ति- पौति, खोखु खोला–सालुके सम्मका सडक विस्तारमा पनि पलिका जुटेको छ । काम समयमै पुरा गर्न समेत निर्माण व्यवसायीहरुलाई भनेका छौँ ।”

सडक भएपनि विमारी हुँदा एम्बुलेन्स ल्याउन नसक्ने स्थिति विगतमा भोगेको फिक्कल–३ का रोहित पहाडी बताउँछन् । यस्ता समस्या समाधान गर्न पालिकाले देखाएको चासो प्रति स्थानीयहरु सकारात्मक बनेका उनको भनाई छ । गाउँपालिकामा महत्वपूर्ण काम हुँदा पनि वर्षा याममा आवत–जावतमा असहज हुनेगरेको खुरहरी, महादेव डाँडाका स्थानीय बताउछन् ।

पालिकाले शुरु गरेका योजना समयमा सम्पन्न गर्ने तथा सडक समस्या हुन नदिने हो भने फिक्कल पर्यटकिय गन्तव्य बन्न थप सहज हुनेछ । फिक्कल-३ का वडाध्यक्ष टेक बहादुर रजन मगरले आन्तरिक तथा वाह्य पर्यटक लक्षित गरी फिक्कल–३ चनौटेमा बनाएका होमस्टे तथा स्थानीय व्यापारमा समेत टेवा पुग्ने बताए ।