Logo

भवानी कार्की

फाल्गुन २, २०७९ मंगलबार

शारीरिक आकर्षणलाई प्रेम मान्नु गलत र खतरनाक


काठमाडौँ । प्रेमलाई लिएर मानिसको आ–आफ्नो धारणा छ । प्रेमलाई यकिनका साथ वर्णन गर्न नसकिए पनि प्रेम शब्द आफैमा पूर्ण छ । मेरो विचारमा प्रेमलाई जसले जसरी बुझे पनि त्यो नै प्रेम हो ।

आजकाल प्रेमलाई लिएर विभिन्न बेथिति र नकारात्मक विचारहरू निम्तेका छन् । प्रेमसँग बार्गेनिङ भइरहेको छ । प्रेम भन्दा बढी क्षणिक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर प्रणय दिवस मनाउन थालिएको छ । कमलो मन र भावनाको कदर गर्न छाडिएको छ ।

कुनै पनि व्यक्तिको शारीरिक आकर्षण र अन्य गतिविधिलाई मध्यनजर गर्दे गरिएको प्रेम प्रेम होइन स्वार्थ हो । जुन गलत मात्र होइन खतरनाक पनि छ । म प्रेमको उत्पत्ति कसरी कहाँबाट भयो त्यो त जान्दिन तर जब देखी प्रेमलाई बुझ्न थाले तब लाग्यो प्रेम एक शक्ति हो । हिम्मत अनि साहस हो प्रेम । प्रेममा कुनै सर्त हुनुहुँदैन । जस्तो सुकै अवस्थामा पनि एक अर्कालाई स्विकार्न सक्नु र एक अर्काको सुख–दुखमा सँगै हुनु प्रेम हो ।

नेपालमा प्रणय दिवस पश्चिमी मुलुकबाटै भित्रिएको हो । अहिले यो दिवस लोकप्रिय बन्दै गइरहेको छ । सुरुमा संस्कृतिको रूपमा विकास भए पनि अहिले यस दिवस विकृतिको रूपमा बढ्दै गइरहेको छ ।

मानिसहरूले प्रेम जस्तो पवित्र शब्दलाई सम्झौताको रूपमा लिइरहेका छन् । मानव प्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन हुन्छ त केवल त्याग हुन्छ, समर्पण हुन्छ । तर आजकाल प्रेम कम र बिछोड धेरै हुन थालेका छन् । जहाँ विश्वास हुँदैन त्यहाँ प्रेम कसरी सम्भव छ । आजकाल प्रेममा न त इमानदारी तानै छ न त सम्मान त केवल स्वार्थ छ ।

मेरो विचारमा सही ढङ्गले पहिचान गर्न सक्यो भने जीवनलाई उत्प्रेरित र ऊर्जाशील बनाउने शक्ति प्रेममा छ । अनेकन् चुनौती थपिएको मानिसको जीवनमा प्रेम प्रगाढ गर्ने समय त नहोला तर प्रेम गर्नलाई कुनै पनि समयको आवश्यकता पर्दैन । मात्र समयको व्यवस्थापन गरे पुग्छ

कुनै पनि प्राप्तिका लागि प्रेम गर्नु गलत हो । कसैको शारीरिक बनावट, उसको सजावट, कमाएको इज्जत र धन सम्पत्तिको लालचले गरिएको प्रेमले मानिसलाई कायर बनाउँछ । प्रेम कुनै वस्तु होइन । न त नाफा घाटाको कुनै मोल नै हो । त्यसैले प्रेमलाई प्रेमकै स्थानमा राखौँ । भनिन्छ मन पराउनु र माया गर्नुमा फरक छ ।

मन पराउनेले चुँडेर हिँड्छन् भने माया गर्नेले जोगाएर हिँड्छन् । हामीले गर्ने प्रेम चुँडेर होइन जोगाएर गर्नुपर्छ । जे जस्तो डे र दिवस भए पनि यस्ता दिवसले सबैलाई निस्वार्थ माया गर्न प्रेरित गरोस् । समयसँगै बदलिँदै गइरहेको मानव मुटुमा थोरै भए पनि सवैमा प्रेम भाव पैदा गरोस् सबैमा प्रणय दिवसको शुभकामना ।