Logo

बागमती पेज

फाल्गुन ३, २०७९ बुधबार

शिवरात्रिमा २० लाख भक्तजन आउने अनुमान


काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन र ५ हजार सादुसन्त आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

फागुन ६ गते परेको शिवरात्रिको तयारीबारे बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराउँदै कोषले शिवरात्रिमा करिब २० लाख श्रद्धालुहरू आउने अनुमान गरेको हो । 

महाशिवरात्रि पर्वलाई उचित ढङ्गले व्यवस्थापन मिलाइएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । जस अनुसार सुरक्षा व्यवस्था, स्वयंसेवा परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ता चप्पल, चन्दन वितरण लगायत अन्य व्यवस्थाको तयारी भइरहेको निर्देशक खतिवडाले जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले दर्शनका लागि आउने भक्तजनहरुलाई कसरी सहज हुन्छ त्यसरी नै व्यवस्थापन गर्ने योजना बनाएको बताए ।  विगतका भन्दा फरक र  सहज ढङ्गले व्यवस्थापन गरी सभ्य र भव्य तरिकाले शिवरात्रि पर्व सम्पन्न गर्ने उल्लेख गरे । 

त्यस्तै सुरक्षा व्यवस्थापनमा ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरेर गर्ने कोषले जनाएको छ । पशुपति क्षेत्रमा कोषको बाहेक कुनै पनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने भएको छ । कोषले स्वयंसेवक, सहयोग विभिन्न नाममा प्रचार गने गरेको भन्दै यो वर्षबाट त्यस्तो नहुने कोषले जनाएको छ ।

मेला क्षेत्रमा कुनै पनि संघसंस्थाले पर्चा, पम्प्लेट वितरण गर्न नपाईने भएको छ । यदि त्यस्तो पाइएमा सुरक्षाकर्मीको सहयोग लिई मेला क्षेत्र बाहिर पठाइने समेत कोषले बताएको छ । शिवरात्रिमा पशुपतिनाथमा राष्ट्रपति आफैँ आउने कार्यक्रम रहेको भन्दै सुरक्षा व्यवस्था चुस्त रहेको कोषले दाबी गरेको छ ।

शिवरात्रिका लागि ८० लाख खर्च छुट्टाएको भन्दै फागुन मसान्तसम्म खर्च विवरण सार्वजनिक गर्ने कोषले जनाएको छ । शिवरात्रिका लागि ८० लाख खर्च आन्तरिक कोषबाट हुने कोषले जानकारी दिएको छ ।