सिन्धुली प्रहरीले १ सय १५ किलो लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ हरलाभरला हुँदै सर्लाहीको लालबन्दीतर्फ मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने चार जनालाई प्रहरीले मरिण गाउँपालिका वडा नम्बर ४ को चुरेजंगलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ का चन्द्र बहादुर वाइबा, सोही स्थानका सुर्य बहादुर वाइबा, विर्ख बहादुर वाइबा र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १४ का मानध्वज वाइबा रहेका छन् ।
बुधबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ सय १५ किलो प्रतिवन्धित लागुऔषध गाँजा, दाप सहितको खुकुरी एक थान र तीन वटा मोटरसाइकल पनि बरामद गरेको छ । सवारी चेकजाँचकका क्रममा प्रहरीमाथि नै हातपात, ढुंगामुडा र घरेलु हतियार समेत प्रहार गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नुपरेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक चिरञ्जीवी दहालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्